देशभर पेट्रोलका लागि लाइन, अधिकांश पम्पमा झुण्डिन थाले ‘पेट्रोल छैन’ का सूचना, अभाव हुने डर
काठमाडौं, चैत १९ । पेट्रोलियम पदार्थको अभाव हुने डरमा देशभरका पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लाग्न थालेको छ । पेट्रोलियम पदार्थको बिक्री बापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि अभाव हुने डरमा उपभोक्ता लाइनमा बसेका हुन् ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा विहानैदखि पेट्रोल पम्पमा उपभोक्ताको लाइन छ । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएका छन् । नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगित गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरेको छ । तर, व्यवसायीले अस्वीकार गर्दै ढुवानी ठप्प पारेका छन् ।
भारतबाट १८ चैतमा आएको नयाँ मूल्यसूची केही घपघट देखिएको छ । नेपाल आयल निगमका अनुसार नयाँ मूल्यसूचीमा प्रतिलिटर डिजेलमा २ पैसा, मट्टीतेलमा २२ रुपैयाँ १९ पैसा र हवाइ इन्धनमा ४ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा बढेर आएको छ । पेट्रोलमा भने १ रुपैयाँ ४८ पैसा घटेर आएको छ । निगमले भने अझै मूल्यमा थपघट गरेको छैन ।
तर, पेट्रोलिमय पदार्थको ढुवानी रोकिएको छ । निगमले कमिसन कटौती गरेपछि व्यवसायीहरूले शुक्रबार रातिदेखि ढुवानी बन्द गरेका हुन् । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि लगायतको माग राख्दै व्यवसायीहरुले डिपोबाट इन्धन लोडरअनलोड नै बन्द गरेपछि समस्या समाधानका लागि आयल निगम अहिले छलफलमा जुटेको छ ।
‘हामी समस्या समाधानका लागि प्रयासरत छौ, आज दिनभरीमा केही न केही निकास निस्कन्छ’ निगमका प्रवक्ता विनितमणी उपाध्यायले भने । उनकाअनुसार देशभरकै पेट्रोलिय पदार्थको डिपो आज खुला राख्न भनिएको छ । डिपो खुला राखे नराखेको बारे अनुगमन भईरहेको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्