देउवा-मोदी आज भेटवार्ता : रेलसेवा र प्रशारण लाइनको शुभारम्भ गर्दै

काठमाडौं , चैत १९  । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शनिबार) हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्दैछन् । आज दुई पक्षबीच प्रतिनिधि मण्डलस्तरीय वार्ता हुनेछ । प्रधानमन्त्री मोदीले आफ्ना समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि छ ।

प्रधानमन्त्री देउवा र भारतका मोदी नेतृत्वको प्रतिनिधि मण्डलस्तरीय वार्तापछि शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेछ । वार्तापछि ३५ किलोमिटर लामो जयनगर-कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रशारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्य दृष्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।

नेपाली राजदूतावासमा शुक्रबार साँझ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने जानकारी दिएका थिए । नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उनले बताए । आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरे ।

प्रधानमन्त्री देउवा भेटवार्तामा व्यस्त

देउवा शुक्रबार अपराह्न भारत आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त रहेका छन् । प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग शुक्रबार अपराह्न नै भेटवार्ता गरेका छन् । त्यस अवसरमा उहाँहरूबीच नेपाल-भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

शुक्रबार नै प्रधानमन्त्री देउवासँग भारतका बाह्यमामिलामन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल-भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री देउवासँग भेट गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनको यो भ्रमणले भारत र नेपालबीचको निकट छिमेकको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीका साथ प्रथम महिला डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्र राय यादव थिए ।

प्रतिक्रिया दिनुहोस्