हामीले छ्यास्स हावा खोलिदिए गठबन्धन सिद्धिन्छ : ओली

काठमाडौं,चैत १८ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन आफूहरूले रहन दिँदासम्म मात्र कायम रहने दाबी गरेका छन् ।

शुक्रबार अनेरास्ववियुको प्रथम विस्तारित बैठकमा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धन कायम राख्नका लागि बालुवाटार जाने गरेको बताउँदै आफूहरूले सहजै रूपमा गठबन्धन तोड्न सक्ने दाबी गरे ।

“गठबन्धन तबसम्म रहन्छ । जबसम्म हामी यसलाई रहन दिन्छौँ । हामीले धेरै केही गर्नुपर्दैन । यो गठबन्धन चल्न नदिन चारवटा चक्का फुकाल्नुपर्छ र ? इन्जिन बन्द गर्नुपर्छ र ? केही गर्नुपर्दैन । छ्यास्स हावा खोलिदिए पछि सिद्धियो,” ओलीको दाबी छ ।

उनले कम्युनिस्ट पार्टीले एमाले नछोड्ने बताउँदै बर्को ओड्दैमा कम्युनिस्ट नहुने पनि बताए ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणप्रति प्रश्न उठाएका छन् ।
शुक्रबार अनेरास्वयुको केन्द्रीय कमिटीको प्रथम बैठकमा उनले ठ्याक्कै चुनाव अगाडि भम्रणमा गएको भन्दै प्रश्न गरे ।

“प्रधानमन्त्रीजी विदेश जानुभएको छ । ठ्याक्कै चुनाव अगाडि ? किन जानुभयो कुन्नि ? आएपछि सोधौँला । यति समय जानुभएन । यतिबेलै किन जानुभयो ?,” ओलीले भने ।

देउवा तीन दिने भ्रमणका लागि आज भारत गएका छन् ।

प्रतिक्रिया दिनुहोस्