‘नेपाल्स सिङगिङ सुपरस्टार’ को अडिसन खुला, विजेतालाई २५ लाख

काठमाडौं, चैत १८ ।  गायन रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’ आगामी वैशाखबाट प्रशारण हुने भएको छ ।

‘नेपाल्स सिङगिङ सुपरस्टार’को आयोजनामा आगामी वैशाख १८ गते आइतबारदेखि हप्ताको दुईदिन बेलुका ८ बजेदेखि ९ बजेसम्म इमेज एचडी टेलिभिजनबाट नियमित प्रशारणमा आउने आयोजक भ्वाइस स्टार नेपाल प्रा.लिले जानकारी दिएको छ ।

नेपाल्स सिङगिङ सुपरस्टारको होस्टमा टेलिभिजन प्रस्तोता विवेक सिंह ठकुरी र ख्याति गायिका केन्जलमेहर श्रेष्ठ छन् ।

निर्णायकमा गायक सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार रहने कार्यक्रमका निर्माता सुरजलाल जोशीले जानकारी दिए ।

शोको निर्देशन रवि श्रेष्ठले गर्दैछन् । निर्माता जोशीका अनुसार अन्य रियालिटी शोमा भाग नलिएका र पाँच वर्षभन्दा बढी अवधिदेखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिकले मात्र सहभागी हुन पाउनेछन् ।

यसैबीच बिहीबारबाटै यो रियालिटी शोको अडिसन खुला गरिएको छ । अडिसनमा समावेश हुनका लागि नेपाल्स सिङगिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर सो पेजको म्यासेज बक्समा अथवा नेपाल्स सिङगिङ सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुई मिनेटसम्मको भिडियो पठाउन सकिनेछ ।

विजेताले २५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्