प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं, चैत १८ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि छिमेकी मुलुक भारत प्रस्थान गरेका छन्।
पत्नी आरजु देउवासहित ५० जनाको जम्बो टोली लिएर देउवा भारत प्रस्थान गरेका हुन्।
उनी चार मन्त्रीसहितको टोली लिएर भारतको औपचारिक भ्रमणमा निस्किएका हुन्।
देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा। नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा छन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी छन्।
सरकारले प्रधानमन्त्री देउवाले ३ दिनसम्म गर्ने भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरिसकेको छ। भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी रहेका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम रहेको छ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने छन् ।
त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा देउवाले भारतका विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नुहुनेछ । त्यस्तै प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्