गठबन्धन बैठक : महानगरको उम्मेद्वार केन्द्रले छान्ने, अरुको निर्णय तल्लो कमिटीले गर्ने
काठमाडौं , चैत १७ । सत्ता गठबन्धनले बैसाख ३० को स्थानीय तहको निर्वाचनमा महानगरपालिको उम्मेद्वार केन्द्रबाटै भागबण्डा गर्ने निर्णय गरेको छ । बाँकी तल्ला कमिटीमा पनि संयन्त्र बनाएर उम्मेदवार टुंगो लगाउने भएको छ ।
बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएको छ’, खनालले भने, ‘महानगरको निर्णय माथिबाट र अन्यका लागि तलै निर्णय गर्न दिने गरी सबै दल सहमत भएका छन् ।’
खनालका अनुसार सत्तारुढ दलको निर्वाचन संयन्त्र बनाउने बाँकी प्रक्रियाबारे फेरि छलफल गरेर अगाडि बढ्ने सहमति पनि बैठकमा भएको छ ।त्यसैगरि सत्ता गठबन्धनमा आबद्व दलहरूले आसन्न स्थानीय चुनावमा एकताबद्व भएर जाने निर्णय पनि
गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावमा एकताबद्व भएर जाने समझदारी बनाएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।उनले गठबन्धन दलहरूबीचको त्यस्तो समझदारीलाई कार्यान्वयन गर्न सबै दल सम्मिलित संयन्त्र बनाएर बाँकी प्रक्रियाका कामलाई अघि बढाउने निर्णय भएको बताए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।















प्रतिक्रिया दिनुहोस्