स्थानीय तहको उम्मेदवार हुन पूरा गर्नुपर्नेछ यी १९ शर्त ! आयोगले सार्वजनिक गर्यो यस्तो नियम

काठमाडौं, चैत १६ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनेका लागि १९ वटा शर्त पूरा गर्नुपर्ने नियम बनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले बुधबार एक विज्ञप्ति निकाल्दै स्थानीय तहमा उम्मेदवार हुनेहरुले पूरा गर्नुपर्ने १९ शर्त सार्वजनिक गरेका हुन्।

जसअनुसार अब उम्मेदवार हुन नेपाल सरकार, प्रदेश सरकार या स्थानीय तह तथा नेपाल सरकार प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक या सुविधा पाउने गरी बहाल नरहेको हुनुपर्नेछ।

त्यसैगरी सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको पनि हुनुपर्ने शर्त आयोगले अघि सारेको छ।

उम्मेदवारले मनोनयनका क्रममा आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्नुपर्नेछ। त्यसैगरी स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको विवरण पनि मनोनयनका क्रममा बुझाउनुपर्ने आयोगले जनाएको छ।

आयोगले उम्मेदवार हुन स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको हुनुपर्ने अर्को शर्त पनि राखेको छ।

यी हुन् १९ नियम

क) नेपालको संविधान प्रति पूर्ण निष्ठावान भएको।

ख) २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको।

ग) गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको।

घ) स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानूनमा अयोग्य नभएको।

ङ) नेपाल सरकार, प्रदेश सरकार या स्थानीय तह तथा नेपाल सरकार प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक या सुविधा पाउने गरी बहाल नरहेको।

च) सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको।

छ) स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड ङ च छ ज झ ञ र ट बमोजिमको अयोग्यता नभएको।

ज) स्थानीय तह निर्वाचन ऐन, २०, स्थानीय तह निर्वाचन नियमावली, २०७४ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २० बमोजिम मनोनयन पत्र साथ उम्मेदवारले पेश गर्नुपर्ने सबै कागजात पेश गरेको।

झ) प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम नरहेको।

ञ) मनोनयन पत्रसाथ पेश गरेको सम्पत्ति विवरण ठीक साँचो रहेको।

ट) स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको।

ठ) स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको।

ड) सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको।

ढ) संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमति पत्र डिभी पिआर) नलिएको।

ण) न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बझाउन बाँकी नरहेको ।

त) निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिवद्ध रहेको

थ) निर्वाचन आयोगले तोकिदिएको निर्वाचन सयको सीमाभित्र रही खर्च गर्न र खर्चसम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको।

द) २१ वर्ष उमेर पूरा भएकोले स्थानीय निर्वाचनमा उम्मेदवार हुन योग्य नेपाली नागरिक भएको।

ध) नेपालको संविधान, कानुन र निर्वाचन ऐन नियमभित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको ।

उपरोक्त बमोजिमको घोषणा पत्रमा उम्मेदवारले सम्पूर्ण विवरण ठीक साँचो रहेको र झुठा ठहरे कानून बमोजिम सहन बुझाउन प्रतिबद्ध रहेको घोषणा गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्