लाइसेन्स नभएका हतियार जफत गर्न गृहको निर्देशन

काठमाडौं, चैत १६ ।  गृह मन्त्रालयले इजाजत (लाइसेन्स) नभएका हातहतियार जफत गर्न जिल्ला प्रशासन कार्यालय (सीडीयो) हरुलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयलेले सबै जिल्ला प्रशासनहरुलाई पत्र लेख्दै जिल्लाभित्र इजाजत नभएका हातहतियार जफत गर्न निर्देशन दिएको हो । जफत गरिएका त्यस्ता अवैध हातहतियारहरु फिर्ता नहुने समेत गृहले स्पष्ट पारेको छ।

गृह मन्त्रालयले फागुन दोस्रो साता सीडीयो कार्यालयहरुलाई पत्र लेख्दै इजाजत भएका हतियारहरु समेत स्थानीय प्रहरीलाई बुझाउन लगाउन भनेको स्रोतले बताएको छ । स्थानीय तहको निर्वाचन नसकिएसम्म इजाजत भएपनि हतियारहरु घरमा राख्न नपाउने गृह मन्त्रालयले निर्णय गरेको हो । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गतेका लागि तोकिएको छ।

गृहले इजाजत भएका हतियारहरु प्रहरीलाई बुझाउन लगाउने र निर्वाचन सकिएपछि सो हतियार सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न सीडीयो कार्यालयहरुलाई भनेको छ । इजाजत भएका हतियार प्रभावकारी ढंगले भण्डारण गर्न समेत गृहले निर्देशन दिएको छ ।

आसन्न स्थानीय तह निर्वाचनको संभावित सुरक्षा जोखिमलाई कम गर्न गृह मन्त्रालयले इजाजत नभएका हतियार जफत गर्न मुलुकभरका सीडीओ कार्यालयहरुलाई निर्देशन दिएको हो । कतिपय सीडीयो कार्यालयहरुले सोबारे सार्वजनिक सूचना नै जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्