बिहीबार सत्ता गठबन्धनको बैठक बस्ने, यी विषयमा हुनेछ छलफल

काठमाडौं , चैत १६ । सत्ता गठबन्धनमा आबद्ध दलको बैठक बिहीबार बस्ने भएको छ । सत्ता गठबन्धनभित्र दलहरुबीच स्थानीय निर्वाचनमा तालमेलको विषयमा छलफल गर्न बैठक बोलाइएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले बिहीबार बस्ने गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरमा तालमेल गर्ने विषयमा छलफल हुने बताए।

प्रचण्डले महानगरको विषयमा तालमेलको निर्णय हुने बताउँदै भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रको दाबी रहेको बताए।

यता मंगलबार सत्तारुढ दल कांग्रेसले स्थानीय निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन दलसँग तालमेल गर्ने निर्णय गरेको छ। निर्णयमा भनिएको छ, ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रकृया अनुरुप कार्य अघि बढाइनेछ।’

चितवनलाई कांग्रेस नछाड्ने र केन्द्रको निर्देशन नमान्ने चर्चा जिल्ला तहमा भइरहेको र केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले विषय प्रवेश गराएपछि सभापति शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा जथाभावी नबोल्न चेतावनी दिएका थिए। भरतपुर महानगरपालिकामा प्रचण्डकी छोरी रेनु दाहाल मेयर छिन्। यसअघि नेपाली कांग्रेससँगको तालमेलमा उनी निर्वाचित भएकी हुन्।

जिल्लास्तरमा कांग्रेस नेताले भने भरतपुर महानगरमा कांग्रेसको उम्मेदवार नभए केन्द्रको निर्देशन नमान्ने अडान लिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्