प्रधानमन्त्रीले भोलि बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्ने, चार समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (बुधबार) भर्चुअल रुपमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले भोलि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो सेसनमा मंगलबार सम्बोधन गरिसकेको जानकारी दिइन् ।

उनकाअनुसार सम्मेलनमा सहभागी हुन श्रीलंकामा रहेका मन्त्री खड्काले कोलम्बोमा भारतीय समकक्षी एस जयशंकरसँग साइडलाइन वार्ता पनि गरेका छन् ।

शिखर सम्मेलनमा चार वटा हस्ताक्षर हुने नेपालको अपेक्षा रहेको लम्सालले बताइन् । जसमा बिमस्टेकको वडापत्र, आपराधिक मामिलामा आवश्यक कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि, कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापनासम्बन्धी र कुटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोग सम्बन्धमा बिमस्टेक समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्