प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमण : यस्तो छ व्यस्त कार्यसूची

काठमाडौं, चैत १५ ।  परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाले यही कार्तिक १८, १९ र २० गते भारत भ्रमण गर्ने जानकारी गराएको छ ।

प्रधानमन्त्री देउवाको भारत बसाइको कार्यसूची अति व्यस्त हुने भएको छ । तीन दिन भनिए पनि दिल्ली र बनारस गरेर भारतमा उनले ४८ घण्टा बिताउने भएका छन् । चैत्र १८ (अप्रिल १) मा अपरान्ह ४ बजेतिर प्रधानमन्त्री देउवा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

भारतीय अधिकारीहरुबाट विमानस्थलमा उनको स्वागतपछि उनी सिधा दिल्लीको चाणक्यपूरीस्थित होटल मौर्य आईसीटी पुग्ने छन् । उनीसहित विशिष्ट पाहुनाहरुको बासको व्यवस्था त्यही होटलमा मिलाइएको छ । त्यही साँझ नेपाली दूतावासले आफ्नो प्राङगणमा प्रधानमन्त्री देउवाको स्वागत सम्मानमा डिनर कार्यक्रम राख्ने तयारी गरेको छ । भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मा देउवाको भ्रमण तयारीका लागि सोमबार दिल्ली आइपुगेर कार्यभार सम्हालिसकेका छन् । मंगलबार राजदूत शर्मा सहित दूतावासका अधिकारीहरु भारतको विदेश मन्त्रालयका अधिकारीहरुसँग देउवा भ्रमणको तयारीबारे छलफलमा व्यस्त छन् ।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री देउवा पूणर् रूपमा औपचारिक भेटवार्तामा व्यस्त हुनेछन् । शनिबार उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठक गर्नेछन् । देउवा र मोदीले संयुक्त रुपमा भर्चुअली जनकपुर-जयनगर रेल्वेको उद्घाटन गर्नेछन् । त्यही बेला जनकपुरमा रेल सञ्चालनमा ल्याउनुका साथै औपचारिक समारोह हुनेछ ।

जयनगर-जनकपुर-कुर्था-बिजलपुरा-बर्दिबास रेल खण्ड भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ । त्यसको जनयनगर-जनकपुर-कुर्थाको खण्डमा ब्रोडगेज रेल्वे लिक ओछ्याउने काम करिब दुई वर्ष अगाडि नै सम्पन्न भइसकेको छ । त्यस खण्डमा रेल कुदाउन नेपाल सरकारले दुई थान रेल समेत खरिद गरेको वर्ष दिन नाघेको छ । तर, सञ्चालनमा आउन सकेको छैन ।

भारतीय समकक्षीसँग देउवाको विभिन्न विषयमा औपचारिक कुरकानी समेत हुनेछ । त्यसमा सीमा समस्या, बिजुली आयात/निर्यात, मलको सहज आपूर्ति, व्यापार लगायतका विषय सम्भावित रहेको नेपाली दूतावास स्रोतले उल्लेख गरेको छ । हैदरावाद हाउसमा मोदीले दिएको लञ्चमा देउवाको सहभागिता रहनेछ । देउवाले भारतीय विदेश मन्त्री एस.जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट्ने छन् । अन्त्यतमा उपराष्ट्रपति एम.वेंकय्य नायुडसँगको भेटघाट हुनेछ । दोस्रो दिन अपरान्ह ४ बजेसम्म प्रधानमन्त्री देउवाको व्यस्तता औपचारिक भेटघाटमै बित्नेछ ।

साँझ भारतीय उद्योगी व्यवापारीहरुसँगको अन्तरक्रिया उनी बसेकै होटल मौर्यमा राखिनेछ । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) ले उक्त कार्यक्रमको आयोजना गर्नेछ । तेस्रो दिन आइतबार सबेरै देउवा उत्तर प्रदेशको बनारसका लागि प्रस्थान गर्नेछन् ।

बनारस प्रधानमन्त्री मोदीको निर्वाचन क्षेत्र पनि हो । देउवाले त्यहाँ काशी विश्वनाथ मन्दिर, नेपाली पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । बनारसमा उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुका साथै लञ्च दिने कार्यक्रम छ । त्यहीदिन अपरान्ह प्रधानमन्त्री देउवा काठमाडौं फर्किनेछन् । अहिलेसम्मको योजनाअनुसार नेपाल एयरलाइन्सको काठमाडौं-दिल्ली नियमित उडानबाटै प्रधानमन्त्री देउवा दिल्ली आउनेछन् ।

शुक्रबार अपरान्ह काठमाडौंबाट अपरान्ह १ बजेर २५ मिनेटको उडानबाट भ्रमण टोली आउने कार्यक्रम छ । त्यसका लागि प्रधानमन्त्री कार्यालयले ४८ वटा सिट बुक गरेर राखेको छ । ८ वटा बिजनेस र बाँकी इकोनमी क्लासका टिकट बुक गरिएको स्रोतले उल्लेख गरेको छ । भारतीय समयअनुसार अपरान्ह २ बजेर ५० मिनेटमा उक्त विमानको दिल्लीमा ल्यान्डिङ समय हो । फर्किंदा ३ अप्रिलमा पनि देउवाले नेपाल एयरलाइन्सकै अपरान्ह ४ बजेर २० मिनेटको नियमित उडान प्रयोग गर्ने तयारी छ ।

गत साउनमा पाँचौँ पटक प्रधानमन्त्री भएका देउवाको यस पटकको कार्यकालको यो पहिलो भारत भ्रमण हो । देउवाका साथमा उनकी पत्नी आरजु देउवासमेत रहनेछन् । भ्रमण टोलीमा पराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव रहने सम्भावना छ । त्यसबाहेक केही विषयगत मन्त्रालयका सचिव तथा सरकारी अधिकारीहरु, प्रधानमन्त्रीको निजी सचिवालय, निजी क्षेत्र र मिडियाका प्रतिनिधिहरुको टोलीमा सहभागिता रहनेछ । यद्यपि भ्रमण टोलीमा को-को रहने बारे औपचारिक घोषणा सरकारका तर्फबाट आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्