धरहरापछिको दोस्रो अग्लो भ्यु टावरको उद्घाटन गरे ओलीले

काठमाडौं, चैत १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमामा भ्यु टावर उद्घाटन गरेका छन्। ९ करोड रुपैयाँमा बनेको भ्यु टावर ओलीले मंगलबार उद्घाटन गरेका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाको लिवाङमा ६ करोडको भ्यु टावर उद्घाटन गरेको भोलिपल्ट ओलीले तिलोत्तममा भ्यु टावर उद्घातन गरेका हुन्।

तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा निर्मित बहुउद्देश्यीय टावरमा ९ करोड खर्च भएको छ। तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन बढाउन उक्त बहुउद्देश्यीय भ्यु टावर निर्माण गरिएको जनाएको छ।

नवनिर्मित टावरमा होटल, सपिङ सेन्टर, कफी बार, पुस्तकालय, पौडी पोखरी र दृश्यावलोकनका लागि अन्य सुविधा रहेका छन्। नगरपालिकाले निर्माण गरेको लिफ्ट सुविधासहितको यो १० तले टावर १ सय ३४ फिट अग्लो छ। २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको यो टावरलाई धरहरापछिकै अग्लो दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्