थुनामा राख्‍ने आदेशविरुद्ध पल शाहले गरे उच्च अदालत पोखरामा रिट दायर

काठमाडौं , चैत १५ ।  नेपाली चलचित्रका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।

आज उनले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिएका हुन् । एक नाबालिग गायिकामाथि बलात्कार आरोप मुद्दामा पुर्पक्षका लागि उनलाई जेल पठाइएको छ ।

तनहुँ जिल्ला अदालतको यही चैत १० गतेको आदेशले पल जेल चलान भएका थिए । सोही आदेश खारेज गरिपाऊँ भन्दै पुनरावेदन परेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको छ । पलका तर्फबाट कानुन व्यवसायीले पुनरावेदन निवेदन दर्ता गराएका हुन् ।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी गैँडाकोटमा एक गायिकाले प्रेमको झुटो नाटक गरेर पटक–पटक आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

पलविरुद्ध तनहुँ प्रहरीमा गएको फागुन ११ गते उजुरी परेको थियो । उजुरीपछि पल फागुन १५ मा तनहुँ प्रहरीसमक्ष आफैँ उपस्थित भएका थिए ।

पलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले अदालतमा समेत आफूले जबरजस्ती नगरेको बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्