स्थानीय तह निर्वाचनः चुनावमा पाँचदलीय गठबन्धन निश्चित
काठमाडौं, चैत १५ । आसन्न ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचन सत्तारुढ पाँच दलबीच गठबन्धन हुने निश्चित भएको छ । सत्तासाझेदार अन्य दलले पहिला नै निर्णय गरिसकेको र कांग्रेसले पनि मंगलबार केन्द्रीय कार्यसमिति बैठकमार्फत यसबारे औपचारिक निर्णय लिने भएपछि स्थानीय चुनावमा पाँचदलीय गठबन्धन निश्चित भएको हो ।
कांग्रेस बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनबारे सैद्धान्तिक र रणनीतिक निर्णयसँगै आवश्यकताका आधारमा तल्ला तहमा यसले आकार ग्रहण गर्नेछ । तर, कुन मोडालिटीमा गठबन्धन बनाउने भन्नेमा दलहरूबीच अझै सहमति भइसकेको छैन । यसअघि गठबन्धनमा रहेका दलहरूले पहिला सबै दलले आन्तरिक निर्णय लिने र त्यसपछि मात्रै मोडालिटीमा जाने सहमति गरिसकेका छन् ।
पार्टीभित्र इतर समूहले गठबन्धन नबनाउन दबाब दिए पनि केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको चाहनाअनुसार आवश्यकता आधारमा गठबन्धनमा जानुपर्ने मत राखेका थिए । सोहीअनुसार पार्टीले मंगलबारको बैठकबाट प्रस्ताव पास गर्ने कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले बताए । ‘केन्द्रीय समितिमा मूलतः चुनावी अभियानको मूल्यांकन भयो । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान’अन्तर्गत केन्द्रबाट खटिएका प्रतिनिधिले दिएको सुझाव र पार्टीको अवस्थाबारे पनि छलफल भयो । अहिलेको गठबन्धन विशिष्ट परिस्थितिमा बनेको हो । केन्द्रीय समिति बैठकमा आवश्यकताका आधारमा तालमेल गरेर जाँदा पार्टी मजबुत हुने र आउने संसदीय चुनावमा पनि जित्ने परिस्थिति निर्माण हुने सुझाव आएको छ,’ प्रवक्ता महतले भने, ‘कतिपयले गठबन्धन र तालमेल नगरी कांग्रेस एक्लै निर्वाचनमा गएर पार्टीलाई परीक्षण गर्नुपर्ने पक्षमा पनि मत राखेका छन् । अधिकांश मत गठबन्धन र तालमेल गरेर जानुपर्छ भन्नेमा छ । यसका आधारमा कहाँ तालमेल गर्ने र कहाँ नगर्ने, गठबन्धनको मोडालिटी के बनाउने भन्ने प्रस्ताव तयार हुन्छ । प्रस्ताव मंगलबार केन्द्रीय समिति बैठकबाट पारित हुन्छ ।’
बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धनको विषयलाई लिएर पदाधिकारी तहमा दुई थरी मत देखिएको थियो । सोमबार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियारले धारणा राखेका थिए । धारणा राख्ने अधिकांशले तालमेलको निर्णयको अधिकार केन्द्रलाई नै दिनुपर्ने मत राखेका थिए । महामन्त्री थापाले स्पष्ट रूपमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए । यसबाहेक संस्थापननिकट पदाधिकारीले स्पष्ट रूपमा गठबन्धनको पक्षमा मत राखेका थिए । इतरनिकट पदाधिकारीले भने आवश्यकताका आधारमा तल्लो तहलाई अधिकार दिएर गठबन्धनबारे निर्णय गर्नुपर्ने पक्षमा धारणा राखेका थिए ।
सोमबार पदाधिकारीबाहेक केन्द्रीय सदस्यहरू रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा। शशांक कोइराला, चित्रलेखा यादव, डा। रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा। प्रकाशशरण महत, डा। शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, सुजाता परियार, रमेश लेखक, रामजनम चौधरी, यज्ञराज जोशी, प्रदीपकुमार सुनुवार, मानबहादुर नेपाली, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, मञ्जु खाण, सुशीला थिङ र गणेश लामाले आ–आफ्ना धारणा राखेका थिए ।
संसद्बाट एमसिसी अनुमोदन भएलगत्तै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले चुनावमा गठबन्धन बन्ने अभिव्यक्ति दिन थालेका थिए । एमसिसी अनुमोदन भएको चौथो दिन १९ फागुनमा बसेको गठबन्धनको बैठकमा देउवाले सत्तासाझेदार दलहरूलाई तीनै तहको निर्वाचनमा मिलेर जाने बताएका थिए । संविधान र लोकतन्त्रको रक्षा गर्न बनेको गठबन्धनको अझै आवश्यकता रहेको प्रधानमन्त्री देउवाले बताउँदै आएका छन् ।
चुनावी परिणामअनुकूल दिने गरी प्रधानमन्त्री देउवाले सफल गठबन्धनका लागि रणनीतिक रूपमै कदम चालेका छन् । स्थानीय तहमै गठबन्धन बनाएर जान सकिने कांग्रेसमा बलियो मत छ । प्रधानमन्त्री देउवालाई पार्टीनिकट नेताहरूले ‘एमालेले जितेका ठाउँमा कांग्रेसले गठबन्धनको सहयोगले जित्छ, कांग्रेसले जितेका ठाउँ फेरि कांग्रेसले नै जित्छ । समग्रमा गठबन्धन कांग्रेसकै पक्षमा हुन्छ, त्यसैले यसमा अगाडि जान’ सुझाएका छन् । ।















प्रतिक्रिया दिनुहोस्