स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ, यस्तो रह्यो राजनीतिक भेटघाट कार्यक्रम

काठमाडौं , चैत १३ । चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । उनी विशेष विमानबाट स्वदेश प्रस्थान गरेका हुन् ।

विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललगायत सरकारी उच्च अधिकारीले बिदाइ गरेका छन् ।

परराष्ट्रमन्त्री डा।नारायण खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले राजधानी बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए ।

त्यसैगरि विदेशमन्त्री वाङले भेटका क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि छुट्टाछुट्टै भेटे। विदेशमन्त्री वाङले बीआरआई परियोजना अघि बढाउन भइरहेको बिलम्बबारे पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग चासो राखेका थिए । सोही क्रममा विदेशमन्त्री वाङले बीआरआई परियोजना कार्यान्वयन गर्न चीन आतुर रहेको समेत बताए। जबाफमा ओलीले बीआरआई परियोजना कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

यस्तै, भेटका क्रममा अध्यक्ष प्रचण्डले बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयनका लागि आवश्यक पहलकदमी लिन चिनियाँ विदेशमन्त्री वाङसँग आग्रह गरे। जबाफमा चिनियाँ विदेश मन्त्री वाङले नेपालले विकास प्रयासमा लिने कुनै पनि निर्णयको चीनले सम्मान गर्ने बताए।

तीन दिने नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङले शनिबार दिउँसो पराराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका थिए। सोही क्रममा नेपाल(चीनबीच विभिन्न ९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। नेपालका तर्फबाट डा।नारायण खड्का र चीनका तर्फबाट चिनियाँ विदेशमन्त्री वाङ यीले द्विपक्षीय बैठकको नेतृत्व गरेका थिए।

शनिबारै विदेशमन्त्री वाङले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग द्विपक्षीय छलफल गरेका थिए । छलफलका क्रममा वाङले प्रधानमन्त्री देउवासँग नेपालको आन्तरिक र बाह्य सुरक्षा अवस्थाका विषयमा चासो राखेका थिए। प्रधानमन्त्री देउवाले विदेशमन्त्री वाङलाई नेपालमा चीनविरोधी गतिविधि हुन नदिन आश्वस्त पारेका थिए।

सोही क्रममा प्रधानमन्त्री देउवाको उपस्थितिमा विदेशमन्त्री वाङले चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तराष्ट्रिय विमानस्थलको चाँबी परराष्ट्रमन्त्री डा। खड्कालाई हस्तान्तरण गरेका थिए। सो विमानस्थलको ९३ प्रतिशत काम सकिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्