बीआरआई कार्यान्वयनमा पहलकदमी लिन चिनियाँ विदेशमन्त्रीलाई प्रचण्डको आग्रह

काठमाडौं, चैत १३ ।  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

आइतबार नक्सालस्थित मेरियट होटेलमा भएको भेटमा प्रचण्डले बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनमा पहलकदमी लिन आग्रह गरेका छन् । ‘कोरोना नियन्त्रणमा चीनको सहयोग, नेपालको विकास आयोजनामा चिनले गरेको सहयोगलगायतको निम्ति धन्यवाद दियौं’ भेटबारे माओवादी केन्द्रका नेता शक्ति बस्नेतले भने, ‘बिआरआई अन्गर्गतका परियोजना कार्यान्वयनका लागि आवश्यक पहलकदमी लिन हामीले आग्रह गरेका छौं ।’

प्रचण्डले व्यापार घाटा बढ्दै गएको र सहजीकरण र सन्तुलित गर्नेबारे कुरा राखेको पनि बस्नेतले जानकारी दिए । त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धबारे पनि छलफल भएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङले पनि दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे चर्चा गर्दै माओवादी केन्द्रका अध्यक्षमा पुनः निर्वाचित भएकोमा शुभकामना दिएका थिए । ‘उहाँले पनि दुई देशका कम्युनिष्ट पार्टीबीच भएको सम्बन्धबारे कुरा राख्नुभयो’ बस्नेतले भने, ‘हाम्रो पार्टी अध्यक्षलाई अध्यक्षमा निर्वाचित भएकोमा चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रपतिको तर्फबाट शुभकामना दिनु भएको थियो ।’

चिनियाँ विदेशमन्त्री वाङले नेपालले आफ्ना दीर्घकालीन हितबारे लिने निणर्यको सम्मान आफूहरूले गर्ने बताएका थिए । यसबारे बस्नेतले भने, ‘ नेपालले आफ्नो दीर्घकालीन हितबारे लिने निणर्यमा सम्मान हाम्रो छ, हुन्छ भन्ने कुरा उहाँहरुले राख्नुयो ।’ यस्तै प्रचण्डले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरेको नेता बस्नेतले जानकारी दिए । त्यस्तै एक चीन नीतिमा नेपाल अडिग रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्