पीएनजीविरुद्धको दोस्रो खेलमा पनि नेपालको हार

काठमाडौं, चैत १२ ।नेपालविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) क्रिकेट शृंखलामा पपुवा न्यूगिनी(पीएनजी)ले क्लिनस्विप गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो ओडिआईमा नेपालविरुद्ध ३ विकेटको जित हात पार्दै पीएनजीले शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो।

नेपालले दिएको २७९ रनको लक्ष्य पीएनजीले ८ बल बाँकी रहँदै ७ विकेट गुमाएर भेटाएको थियो।
पीएनजीका ओपनर लुगा साइकाले सर्वाधिक ९० रन जोडे। १०२ बलमा उनले १२ चौका र एक छक्का हिर्काएका थिए।

यस्तै रिले हिकारेले ४५ बलमा ३ चौका र २ छक्को मद्दतमा ४७ रन थपे। त्यसबाहेक सिसी बाउले ३८, चाल्र्स अमिनीले ३५, हिरी हिरीले १३, नर्मन भानाउले ११ रन थपे।नेपालका सोमपा कामीले ३ तथा पवन सर्राफले २ विकेट लिए। यस्तै सन्दीप लामिछाने र आरिफ सेखले समान १–१ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनाएको थियो।

खेल सकिन ११ बल बाँकी हुँदा क्रिजमा रहेका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीको २७ रनको साझेदारी गर्दै नेपाललाई उक्त स्कोरमा पुर्‍याएका हुन।अन्तिम ओभरमा सन्दीपले १६ रन प्रहार गरेका थिए। आक्रामक ब्याटिङ गरेका सन्दीपले ९ बलमा २ चौका र एक छक्काको मद्दतमा नटआउट २४ रनको पारी खेले।

त्यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १०५ रनको शतकीय पारी खेले। उनले १४० बलमा ७ चौका प्रहार गरे।नेपाली ओडीआई खेलको इतिहासमा शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी बने। यसअघि शुक्रबारमात्रै पीएसजीविरुद्ध नेपालका रोहित पौडेलले १२६ रनको शतकीय इनिङ्स खेलेका थिए।

त्यसअघि पूर्वकप्तान पारस खड्काले २०१९ जनवरीमा यूएईविरुद्ध ११५ रनको शतकीय पाली खेलेका थिए।यस्तै दोस्रो ओडिआई खेल खेलेका देव खनालले ७२ रन जोडे। ८६ बलमा उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए।

पाँच रनको स्कोर हुँदा दुवै ओपनरलाई गुमाएपछि नेपाली पारी दीपेन्द्र र देवले सम्हालेका थिए।तेस्रो विकेटको लागि उनीहरुबीच १२९ रनको साझेदारी भएसँगै नेपालले इनिङ्ग अघि बढाएको थियो। यो नेपालको ओडीआई खेलको इतिहासमा अहिलेसम्म भएको सर्वाधिक रनको साझेदारी पनि हो।

यसअघि शुक्रबारबाटै पीएनजीविरुद्धको पहिलो खेलमा पाँचौं विकेटका लागि रोहित पौडेल र आरिफ सेखबीच १०४ रनको साझेदारी भएको थियो।अघिल्लो खेलमा शतक प्रहार गरेका रोहित पौडेल ३५ रनमा आउट भए। ३६ बलमा उनले ३ चौका प्रहार गरे।

त्यसबाहेक भीम सार्कीले २६ रन जोडे। पवन सर्राफ र कुशल भुर्तेलले खाता नै खोल्न सकेनन्। आरिफ सेख ४ र अनिल साह १ रनमै आउट भए।

प्रतिक्रिया दिनुहोस्