तीनवटै निर्वाचनमा गठबन्धन हुन्छ : प्रचण्ड
काठमाडौं, चैत १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनवटै निर्वाचनमा गठबन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले आगामी निर्वाचनमा गठबन्धन हुने बताएका हुन् ।
प्रचण्डले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सरकारमा रहेका दलहरूबीचमा गठबन्धन हुने बताए । उनले भने, ‘गठबन्धन त भइरहेकै छ नि, गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय निर्वाचनसम्म पनि रहन्छ ।’
यता, कांग्रेस चितवनका नेताहरूले भरतपुर महानगरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा प्रचण्डले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन् ।’
भरतपुर महानगरपालिकामा रेनु दाहाल प्रमुख छिन् । यसअघि कांग्रेससँगको तालमेलमा उनी निर्वाचित भएकी हुन् । माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र रेनुलाई दोहोर्याउने जनाउँदै आएको छ । कांग्रेसले गठबन्धन भएमा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने बताउँदै आएको छ । प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र माडी र भरतपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्