जलस्रोत ऐनको मस्यौदा छिट्टै संसदमा पेस गर्छाैँ : मन्त्री भुसाल

काठमाडौं, चैत ८ ।  सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेस गर्ने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति, २०७७ कार्यान्वयन गर्न आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रूप दिई संसदमा पेस गर्ने तयारी गरिएको बताएकी हुन्।

विश्व पानी दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रूपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा रहेको जानकारी दिइन्। सरकार जल संरक्षण र सम्बर्द्धनमा पर्याप्त सचेत रहेको उनले बताइन्। भूमिगत जलस्रोतको संरक्षण हुने गरी तय गरिएको नीति र कार्यक्रमको कार्यान्वयन गर्न जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसका लागि आमनागरिकको सचेतनामा समेत ख्याल पुर्‍याउनुपर्ने बताइन्।

‘राष्ट्रिय जलस्रोत नीति, २०७७ जारी भइसकेको छ। यस नीतिलाई कानुनमा रूपान्तरण गरी जलस्रोत ऐनको मस्यौदासमेत तयार भइसकेको अवस्था छ। अब हामी अन्तिम अवस्थामा छौँ, छलफल गर्दैछौँ। यसलाई अन्तिम रूप दिएपछि क्याबिनेट हुँदै संसदमा दर्ता गर्नेछौँ। यसको साथै जल तथा ऊर्जा आयोगबाट एकीकृत नदी बेसिन योजनासमेत सम्पन्न हुने क्रममा छ। जुन हाम्रो १५औँ आवधिक योजनाको जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रूपमा राखिएको छ,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्