मन्त्रिपरिषद् हेरफेरको सम्भावना छ : प्रचण्ड
काठमाडौं, चैत ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् फेरबदलको सम्भावना रहेको बताएका छन् ।
मंगलबार कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि जनकपुर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘कतिपय मन्त्रीहरुसँग असन्तुष्टि छ । यस विषयमा गठबन्धनभित्र कुरा हुँदैछ । तर, अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन्। केही मन्त्रालयमा हेरफेर हुने सम्भावना छ ।’
उनले गठबन्धनका लागि सबैभन्दा ठूलो त्याग माओवादीले गरेको दाबी गरे । अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा तालमेल गरी जान सकिने भएपनि कुन दलसँग तालमेल गर्ने त्यसको टुंगो नलागेको बताए ।
प्रचण्डले अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित हुने पनि बताए ।
‘लामो समयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ । जसका कारण लाखौं जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकता पाउनबाट बञ्चित छन्,’ प्रचण्डले भने, ‘अब बस्ने संसद बैठकबाट यसको टुंगो लाग्छ ।’
प्रतिक्रिया दिनुहोस्