बक्यौता नतिर्नेको बैंक खातादेखि राहदानी रोक्का गर्ने प्राधिकरणको चेतावनी
काठमाडौं , चैत ६ । बक्यौता नतिर्ने सात वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने भएको छ । पटकपटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाइन एयरवेज र एयर काष्ठमण्डपलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको हो ।
प्राधिकरणले यी कम्पनीहरूलाई बक्यौता तिर्न ताकेता गर्दै तीनपटक सार्वजनिक सूचना नै प्रकाशित गरेको थियो । प्राधिकरणले आज अन्तिम पटक भन्दै निकालेको सूचनामा ७ दिन भित्र वक्यौता तिर्न आग्रह गरिएको छ ।
यदि बक्यौता तिर्न नआए कम्पनीलाई कालोसूचीमा राख्दै भविष्यमा हवाई सेवासम्बन्धी कुनै पनि कामकारबाही गर्न नदिने र सञ्चालकको बैंक खाता रोक्कादेखि राहदानी रोक्कासम्म गरिने चेतावनी दिइएको छ ।
प्राधिकरणले कम्पनीहरूलाई बक्यौता तिर्न नपर्ने हो भने त्योअनुसार कागजात लिएर आउनसमेत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्