प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, कांग्रेस केन्द्रीय कार्य समिति वैठक पनि डाकियो

काठमाडौं , चैत ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको बैठक महत्वपूर्ण रुपमा हेरिएको छ ।

यता आउँदो बैसाख ३० गतेको स्थानीय चुनावमा सत्ता गठबन्धनमा आवद्ध दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसले केन्द्रीय कार्य समिति बैठकबाट निर्णय लिने भएको छ ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने विषयमा निर्णय लिन आउँदो शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्य समिति बैठक बोलाएका छन् । बैठकले चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा निर्क्योल गर्ने प्रवक्ता प्रकाशशरण महतले बताएका छन् । यसअघि बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवम् ‘घर(घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा लगायत विविध विषयमा छलफल हुने उल्लेख गरिएको थियो ।

प्रवक्ता महतले बैठकले गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे सैद्धान्तिक निणर्य गर्ने जानकारी दिए । पार्टीको अभियानको क्रममा सल्यान पुगेका प्रवक्ता महतले चैत्र ११ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनबारे सैद्धान्तिक निर्णय गर्ने बताएका हुन् । उनले तल्ला तहमा पार्टी संगठनको अवस्था र गठबन्धनको आवश्यकताबारे तथ्यगतरुपमा पार्टीले विस्तृत अध्ययन गरेपछि मात्रै कहाँ(कहाँ गठबन्धन गर्ने भनेर टुंगो लगाउने बताए ।

‘सबै दलको लक्ष्य निर्वाचनमा बढी सिट जित्ने भन्ने हुन्छ । जे गर्दा बढी सिट जितिन्छ, त्यसै अनुसार निणर्य गर्ने हो,’ उनले भने, ‘एक्लै लड्दा बढी जितिने देखियो भने त्यही गरौं । सहकार्य गर्दा बढी जितिने भयो भने त्यही अनुसार कसरी को(को गठबन्धन गर्ने हो, त्यो गर्नुपर्छ ।’

प्रवक्ता महतले पार्टीमा नेता कार्यकर्ताहरू अहिले गठबन्धन गर्ने वा नगर्ने भन्ने बहसमा अल्झिएको भन्दै त्यसरी अलमलमा पर्न आवश्यक नरहेको बताए । चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसभित्र चर्को मतभेद छ । तर, प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने चुनावमा गठबन्धन गर्ने र त्यसका लागि पार्टीमा निर्णय गरेर अघि बढ्ने बताइसकेका छन् ।

प्रधानमन्त्री देउवाले गठबन्धन सरकार बनेपछि मुलुकमा धेरै कुरा परिवर्तन भएको समेत दाबी गर्दै आएका छन् । तर, नेता शेखर कोइराला पक्षका नेताहरूले भने चुनावमा गठबन्धन गर्न आवश्यक नरहेको बताउँदै आएका छन् । गठबन्धनको विषयमा कांग्रेसमा फेरि विवाद चर्किन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्