एआईजी बढुवा सिफारिसविरुद्ध पर्यो उजुरी, कसले दियो ?
काठमाडौं , चैत ६ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक ( एआईजी) बढुवा सिफारिसविरुद्ध उजुरी हालिएको छ । बढुवाउपरको उजुरी सुन्ने समितिमा आइतबार ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आईजीपी शैलेश थापाको ब्याचका डीआईजीहरुले उजुरी दिएका हुन् ।
वरीयता मिचेर सिफारिस गरेको भन्दै आफूहरू दाबेदार भएको उनीहरूको निष्कर्ष छ । बढुवा समितिले थपिएका तीन एआईजी दरबन्दीमा चैत १ गते डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकको सिफारिस गरेको थियो ।
समितिको सिफारिसविरुद्ध एक साताभित्र उजुरी गर्न सकिने कानुनी व्यवस्था छ । कसैले उजुरी नगरे उनीहरू एआईजीमा बढुवा हुनेछन् । वरीयतामा अगाडि रहेका डीआईजी घनश्याम अर्याल, प्रकाशजङ कार्की र ईश्वरबाबु कार्कीले सिफारिसविरुद्ध तीव्र असन्तुष्ट जनाइरहेका छन् । यी तीनैजना वर्तमान आईजिपी शैलेश थापाका ब्याचीहरू हुन् । उनीहरूले वैशाख १८ बाट अवकाश पाउँदै छन् ।
सिफारिसमा परेका पन्त पनि आईजीपी थापाका ब्याची हुन् । अन्य दुई जना सिंह र धानुक एआईजी भए उनीहरू दुवै भावी आईजीपीका लागि प्रतिस्पर्धी मानिने छन् । सामाजिक सञ्जालमा सक्रिय ईश्वरबाबु कार्कीले सिफारिसविरुद्ध तीव्र असन्तुष्टि जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्