पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, चैत ४ । नाबालिगमाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीन बहादुर कुँवरले शाहमाथि अनुसन्धानका लागि अदालतले थप ५ दिनको समय प्रदान गरेको  जानकारी दिए । फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप गरिएको म्याद शुक्रबार सकिँदै थियो ।

तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो । तर यही बीचमा नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको छैन । जसकारण पल शाहमाथिको अनुसन्धान अझै नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँ स्रोतले बताएको छ ।

अनुसन्धानको समय नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलमार्फत अनुसन्धानको लाथि थप समय मागेको हो ।

प्रतिक्रिया दिनुहोस्