घुस लिएर लाइसेन्स दिएको आरोपमा नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, चैत ४ ।   सवारी चालक अनुमतिपत्रको परीक्षामा घुस लिएर अनुत्तीणर्लाई उत्तीणर् गराएको आरोपमा यातायात व्यवस्था कार्यालय गण्डकीका तत्कालीन निमित्त प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, गण्डकी प्रदेश, पोखरामा कार्यरत तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल र हरिप्रसाद गौतम समेत नौं जना उपर परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोप-पत्र दायर दायर गरिएको हो ।

उनीहरुले २०७५ मंसिर, २०७६ साल कार्तिक र मंसिरमा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीणर्लाई उत्तीर्ण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

निमित्त कार्यालय प्रमुख पौडेल, तत्कालीन सोही कार्यालयका शाखा अधिकृत तथा हाल गण्डकी प्रदेश भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौं प्रेम प्रसाद श्रेष्ठ, अधिकृतस्तर छैठौं डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौं होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालसमेत विरुद्ध मुद्दा दायर गरिएको हो ।

अनुत्तीर्ण र अनुपस्थित परीक्षार्थीहरुमध्ये १६६ जना परीक्षार्थीहरूको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स भेहिकल रजिस्टर सिस्टममा रिजल्ट अपडेट तथा रिजल्ट एप्रुभ गर्ने क्रममा पास गरे गराएको तथा २ जना प्रयोगात्मक परीक्षामा पास भएका परीक्षार्थीहरूलाई रिजल्ट अपडेट गर्दा फेल गराएको अख्यिारले जनाएको छ । उनीहरुको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले सोही दफा बमोजिमको अधिकतम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्