पल शाहविरुद्ध तनहुँमा आज तेस्रोपल्ट म्याद थपिंदै, प्रहरीले जुटायो यस्ता प्रमाण
काठमाडौं, चैत ४ । अभिनेता पल शाहविरुद्ध आज (शुक्रबार) तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । बलात्कारको आरोप लागेका पलविरुद्ध जिल्ला अदालत तनहुँबाट यसअघि पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद लिइएको थियो ।
१२ दिने म्याद आज सकिँदै छ । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैंडाकोटमा एक नाबालिग गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् । अनुसन्धान नसकिएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले जुटायो यस्ता प्रमाण
अभिनेता पल शाहविरुद्ध बिहीबार नवलपुर जिल्ला अदालतमा बलात्कारको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा पलले नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगसहित मुद्दा दायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रज्ज्वल महर्जनले पलविरुद्धका विभिन्न प्रमाण जुटाएर अदालतमा मुद्दा दायर भएको बताए । पलले ०७७ चैत ७ गते गैंडाकोटस्थित एक रिसोर्टमा सुटिङका लागि गएको बेला बलात्कार गरेको भन्दै जाहेरी दिइएको थियो । सोही जाहेरीपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । जबरजस्ती करणी मुद्दामा प्रहरीले बढीमा २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । तनहुँमा पनि पलविरुद्धको मुद्दा बुझाइनेछ । एसपी महर्जनले विभिन्न प्रमाण समेत जुटाएको बताए ।
पलले भने गैंडाकोटमा आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप झुटो भएको दाबी गरेका छन् । एसपी महर्जनले भने, ‘बाहिरिएका अडियोलाई फरेन्सिक ल्याबमा पठाएका छौं । यस बाहेक म्यासेज, कल, घटनालाई पुष्टि गर्ने अन्य प्रमाणहरू हामीले संकलन गरेका छौं । जसले अभियोग पुष्टि हुनसक्छ ।’
गैंडाकोटमा रहेको रिसोर्टमा पल १०१ नम्बरको कोठामा बसेको र पीडित किशोरी १०२ नम्बर कोठामा बसेको बताइएको छ । सोही राति पल किशोरीको कोठामा गएर जबरजस्ती करणी गरेको उनीविरुद्ध आरोप छ । प्रहरी अनुसन्धानका क्रममा सुटिङ युनिट रिसोर्टमा बसेको पुष्टि भएको छ । रिसोर्ट सञ्चालकले भने कुन कोठामा को बस्यो भन्नेबारे आफूहरूलाई जानकारी नभएको बताएका छन् । पीडित नाबालिकाले राति ११ बजे आफू बसेको कोठामा आएर पलले बलात्कार गरेको बयान दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस्