राष्ट्रिय सुरक्षा नीतिलाई निकै बलियो बनाउन आवश्यक छ : प्रधानमन्त्री देउवा
काठमाडौं, चैत २ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई निकै बलियो बनाउन आवश्यक रहेको बताएका छन् । आज बुधवार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले सुरक्षा, प्रतिरक्षालगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबीसमेत गरेका छन् ।
प्रधानमन्त्री देउवाले भने , ‘महत्त्वपूर्ण र संवेदनशील भएको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले आफ्नो जिम्मेवारी अत्यन्त निष्ठा र नियन्त्रणका साथ सम्पादन गरेको पाउँदा मलाई प्रशन्नताको अनुभव भएको छ । राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिकाताका लागि एकीकृत कार्ययोजना समेत तयार भइ सम्बन्धित मन्त्रालय तथा निकायहरूमा कार्यान्वयनका लागि पठाइसकिएको छ । कार्ययोजनामा उल्लेखित क्रियाकलापहरूलाई निर्दिष्ट समयभित्रै कार्यान्वयनमा उतारी राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई थप सुदृढ र सफल बनाउँदै जान आवश्यक छ ।’
प्रधानमन्त्री देउवाले एकीकृत कार्ययोजनाको प्रगति अनुगमन गर्ने जिम्मेवारीसमेत राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई प्रदान गरिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गरी राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा यस सचिवालयले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा राखेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्