फागु पूर्णिमाको दिन काठमाडौंमा ट्राफिक व्यवस्थापनमा कडाइ, ६८ स्थानमा विशेष चेकजाँच
काठमाडौं, चैत २ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन ट्राफिक व्यवस्थापन कडा पारेको छ।
होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो।महाशाखाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा एक हजार तीन सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको जनाएको छ।
महाशाखाले उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गर्ने भएको छ।
होलीको पूर्वसन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले सबै ट्राफिक इकाई तथा इन्चार्जलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिनुका साथै खटिने प्रहरी कर्मचारीहरूलाई ब्रिफिङ समेत गरेका छन्।
‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतीहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्यांकन गरेर प्रविधि उपकरणहरुको समुचित उपयोग गर्ने गरी विशिष्टिकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ’ एसएसपी उमेश राज जोशीले भने, ‘विहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २ वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ।’
उच्छृङ्खल तथा अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीब्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि मोटरसाइकल हुईंक्याउने, मोटरसाइकलमा हेलमेट नलगाउने, मोटरसाइकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरुले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्