माओवादी केन्द्रको दुई महिने चुनावी अभियान, बनायो २८ कमाण्ड

काठमाडौं, चैत २ ।  सत्ता साझेदार नेकपा माओवादी केन्द्रको बुधबारका लागि तय गरिएको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम शुरु भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति, प्रवास समन्वय समिति वैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरू सहभागी छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा माओवादीले वैचारिक तथा राजनीतिक प्रशिक्षणलाई तीव्रता दिएको छ ।

दुई महिने चुनावी अभियान, २८ कमाण्ड बनाइयो

नेकपा माओवादी केन्द्रले आगामी वैशाखमा तय भएको स्थानीय तह निर्वाचनका लागि अभियान तीव्र बनाएको छ । ‘समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार’ भन्ने मूल नाराका साथ सो पार्टीले दुई महिने अभियानात्मक कार्यक्रम तय गरेको छ ।

जसअनुसार वैचारिक राजनैतिक कार्यक्रम, संगठन सुदृढीकरण, व्यवस्थापकीय कार्यक्रम, सूचना सञ्चार तथा प्रचारसम्बन्धी कार्यक्रम, अध्ययन सर्वेक्षण तथा विश्लेषणसम्बन्धी कार्यक्रम, राजनीतिक तथा प्रशासनिक समन्वय, सांस्कृतिक कार्यक्रमजस्ता कार्यक्रम तय गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टीले चुनावी अभियानका लागि प्रदेशगतरुपमा २८ वटा कमाण्ड बनाएको पनि ती नेताको भनाइ छ । प्रदेश १ मा विभिन्न जिल्ला समेटेर ५ वटा कमाण्ड निर्माण गरिएको छ । जसअनुसार ताप्लेजुङ, पाँचथर, ईलाम समेटेर एउटा कमाण्ड बनाइएको छ भने झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुरको ३-३ जिल्लाको अन्य कमाण्ड बनाइएको छ । यस्तै सोलुखुम्बु र ओखलढुङ्गाको अर्को कमाण्ड बनाइएको छ ।

मधेस प्रदेशमा ४ वटा कमाण्ड बनाइएको ती केन्द्रीय सदस्यले बताए । उनले भने सप्तरी र सिरहा, धनुषा र महोत्तरी, सर्लाही र रौतहट, बारा र पर्सा जिल्ला समेटेर कमाण्ड बनाइएको उनको भनाइ छ । यस्तै बागमती प्रदेशमा चितवन र मकवानपुर, धादिङ, नुवाकोट र रसुवा, सिन्धुपाल्चोक दोलखा र काभ्रे, सिन्धुली र रामेछाप तथा भक्तपुर, ललितपुर र काठमाडौँ जिल्ला समेटेर ५ वटा कमाण्ड बनाइँदा गण्डकी प्रदेशमा गोरखा, लमजुङ र मनाङ, तनहुँ र नवलपरासी पूर्व, स्याङ्जा, कास्की र पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला समेटेर ४ वटा कमाण्ड बनाइएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँची, प्युठान, रुकुमपूर्व र रोल्पा तथा दाङ, बाँके र बर्दिया समेटेर ४ वटा कमाण्ड बनाइएको छ । यसैगरी कणर्ाली प्रदेशमा सुर्खेत, दैलेख र सल्यान, जाजरकोट, डोल्पा र रुकुम पश्चिम जिल्ला समेटेर ३ वटा कमाण्ड बनाइँदा सुदूरपश्चिममा पनि ३ वटा नै कमाण्ड रहेका छन् । जसमा अछाम, डोटी र बाजुरा, बैतडी, बझाङ र दार्चुला तथा कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्ला समेटिएको छ ।

दुई महिने प्रशिक्षणमा प्रदेश समिति सदस्य, परिषद्, विभाग सदस्यहरू, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्च, जिल्ला समन्वय समितिका सदस्यहरू र स्थानीय तहका पदाधिकारीहरू सहभागी हुने बताइएको छ ।

जसअनुसार हाल अध्यक्ष प्रचण्डकै सहभागितामा माओवादीले प्रदेशगत प्रशिक्षण र बैठक सञ्चालन गर्दै आएको छ । कार्यतालिकाअनुसार माओवादीले बागमती, कणर्ाली, प्रदेश १, सुदूरपश्चिमको प्रशिक्षण सकिसकेको छ भने उपत्यका विशेष र सम्पर्क समन्वय समितिको बुधबार तय गरिएको छ । यस्तै लुम्बिनी र गण्डकीको प्रशिक्षण चैत ३ र ६ गतेका लागि तय गरिएको छ ।

दुई महिने अभियानका लागि सो पार्टीले ‘गाउँ नगर घर घर जाऔँ । माओवादी केन्द्रलाई विजयी गराऔँ, माओवादीको नीति र नेतृत्व संघीय व्यवस्था र समानुपातिक प्रतिनिधित्व, नेपाली जनक्रान्तिको अमूल्य उपहार संघ, प्रदेश र स्थानीय स्तरमा जनसरकार, सबै खाले प्रतिगामी षडयन्त्रको प्रतिकार गरेर जनक्रान्तिका उपलब्धिको रक्षा र बिस्तार गरौं, श्रम, रोजगार उत्पादन र आर्थिक समृद्धि सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धि गरौं, विभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौं, सामाजिक न्याय, सुशासन र समतामूलक समाजको विकास गरौं’ जस्ता नारा तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्