सङ्खुवासभा बस दुर्घटना: मृतकका परिवारलाई एक लाख राहत दिने निर्णय

काठमाडौं, चैत १ । सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख दिने भएको छ ।गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।

सोमबार बसेको मादी नगरकार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही रु एक लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिए । यस्तै बैठकले घाइतेलाई उपचार खर्चबापत जनही ५० हजारसमेत दिइनेछ भने मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारकसमेत बनाउने निर्णय पनि गरेको प्रमुख सुब्बाले बताए ।

सो स्मारकमा घाइते र मृतकको नाम लेखिने उनको भनाइ छ । मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नं को बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

बस दुर्घटनाका घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रमुख सुब्बाले बताए ।

प्रतिक्रिया दिनुहोस्