नेपालमा तापक्रम बढ्दै : हावाहुरी चल्ने हुँदा सचेत रहन सुझाव
काठमाडौं, चैत १ । नेपालमा पछिल्ला दिनहरूमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरूले सुझाएका छन्। सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्डअनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तथा एउटा केन्द्रमा ४० डिग्री तापक्रम रेकर्ड भएको छ।
जलवायुविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार तराईमा ४० डिग्री वा सोभन्दा बढी र पहाडमा ३० डिग्रीभन्दा माथि तापक्रम पुगेको अवस्थामा तातो हावा (लु) आउँछ। मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उप्रेतीले पछिल्लो समय नेपालमा तापक्रम वृद्धि भइरहेको बताए। तातो हावा चलेको अवस्थामा पर्यावरण सुक्खा रहने, कम पानी पर्ने हुँदा प्रदूषण बढ्ने र ठूलो वेगमा हावा चल्दा हुँदा भौतिक संरचनाहरूमा समेत क्षति पुग्ने उनले बताए।
‘हावाको चाप, हावाको प्रेसर कतातिर गइराखेको छ ? तातो हावा कति माथि जान्छ ? माथिबाट तातो हावाले चिसो हावालाई दबाएर राख्ने र त्यो दबाएर राख्दाको अवस्थामा हाई प्रेसर र लो प्रेसरको मिक्स्चर हुन्छ। एकदमै सुक्खा हावा र एकदमै वाष्पीकरण हावाको टकराव र यस्तो खालको अवस्थाबाट उत्पन्न हुने अवस्था भएको हुनाले डाइनामिक हुन्छ, चलिरहन्छ। यसो हुँदा हावाहुरी चल्ने हुन्छ। यतिवेला हामी सचेत हुनुपर्ने हुन्छ,’ उनले भने।
यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्वसूचना दिनु आवश्यक रहेको उनले औँल्याए। तापक्रम वृद्धि भई अत्यधिक हावा चल्ने हुँदा कृषि प्रणालीमा समेत असर पर्ने भएकाले सजग हुन डा. उप्रेतीले सुझाव दिएका छन्।
प्रतिक्रिया दिनुहोस्