साउदी अरबका राजकुमार नेपालमाः आज उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाडौं , चैत्र १ । नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दैछ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९ः१५ बजे बैठक शुरु हुने जनाइएको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा। नारायण खड्काले गर्नेछन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् ।

बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक सकिएपछि आज नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रीमेन्टमा हस्ताक्षर हुने जनाइएको छ । उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो । करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । बैठकमा सहभागी हुन साउदी विदेशमन्त्री सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्