भारतले महाकालीको बहाव नेपालतर्फ फर्काउँदै छ, सरकार मौन छ : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दार्चुलामा महाकाली नदीको बहाव भारतले नेपालतर्फ फर्काइरहेको भए पनि सरकार नबोलेको टिप्पणी गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा उनले नेपालको सिमानामा भारतीय पक्षको अतिक्रमण तत्काल रोक्नुपर्ने बताए।

‘दार्चुलामा महाकालीको बहाव भारतले नेपालतर्फ फर्काउँदै छ। तर, सरकार मौन बनेर समाचार प्रकाशित भइरहेको छ। यथार्थ यो भइरहेको पनि हो। यस्तो वेला सरकार किन बोल्दैन ? भारतले नेपालको भूमि गाभेर नक्सा बनाएपछि नेपालले पनि त्यो नक्सालाई च्यातेर आफ्नो भूमि आफ्नै भूमिमा गाभेर नयाँ नक्सा तयार गर्‍याे । तर, कालापानीमा भारतीय सेना यथावत् छ। र, नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्दै छ।

दार्चुलामा महाकाली नदी पाँच मिटर अतिक्रमण गरेर भारतले नौ मिटर उचाइको पाँच किलोमिटर लामो तटबन्ध बनाउँदै छ। यसले आउने वर्षमा नेपालको जनधन क्षति हुने भयो। स्थानीय जनता नेपाली भूमि सुरक्षा गर्न संघर्ष गर्दैछन्। स्थानीय प्रशासन, गृह प्रशासन, परराष्ट्र मन्त्रालय के गर्दै छन् ?’ सुवालले भने।

प्रतिक्रिया दिनुहोस्