कांग्रेसको सबैतिर चुनाव जित्छौं भन्ने दावी पैसाको धाक मात्रै : झलनाथ खनाल

काठमाडौं, फागुन २८ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका एकथरी नेताहरुको बैठक बसेर आउँदो चुनावमा एक नम्बरमा झलनाथ हराउने निणर्य गरेको आरोप लगाएका छन् ।

नेकपा एसको इलाम-काठमाडौं सम्पर्क मञ्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै खनालले एमालेले पनि आफ्नो निर्वाचन क्षेत्र इलामबाटै केपी ओलीको उपस्थितिमा अभियान सञ्चालन गर्न लागेको बताए । खनालले निर्वाचनमा कांग्रेसहरु बोरामा पैसा बोकेर आउने भन्दै अहिले कांग्रेस नेताहरुले सबै ठाउँमा जित्ने दावी गर्नुमा पनि पैसाको धाक मात्र रहेको बताए । उनले एमालेले पनि पैसाको बोरा लिएर जाने बताए ।

खनालले भने, ‘कांग्रेस बोरामा पैसा बोकेर जान्छ । केही कांग्रेसको धाक त्यहि हो । तर प्रधानमन्त्री एकताबद्ध भएरै जानुपर्छ भन्दै हुनुहुन्छ । कांग्रेसभित्र दुईटा धार छन्, नेतृत्वले जे निणर्य गर्छ त्यही हुन्छ । जहाँ सम्भव हुन्छ त्यहाँ मिल्ने, सम्भव नभए एक्लै जाने हाम्रो नीति हुन्छ । हारिन्छ भनेर डराउने कुरा छैन । अर्को चुनावमा पक्का जित्छौं, अहिले तयारी गरौं । कांग्रेसका केही नेता बसेर एक नम्बर एकमा झलनाथ खनाल हराउने भने । एमालेको अर्को बैठक गरेर कहाँबाट क्याम्पेन गर्ने भन्दा इलाम-१ बाट । केपी ओली ६ गते जाँदैछन् ।’

खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन् । कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्टहरुलाई जनताले पर्दाफास गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

नेता खनालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जस्ता देशमा धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको बताए । ‘ओली जस्ता कम्युनिष्टको खोल ओढेर बसेकालाई जनताले अब चिन्नु पर्छ’, उनले भने, ‘यस्ता नेता र पार्टीलाई वैशाख ३० गते हुने निर्वाचनमा सजाय दिनु पर्छ ।’ उनले यस्ता नक्कली कम्युनिष्टले दलाल पुँंजीपति वर्गको सेवा गर्ने बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका ६९ जनालाई ओलीले पार्टी प्रवेश गराएका थिए। कार्यक्रममा पार्टी भक्तपुर नगर समितिका अध्यक्ष प्रविण बाटी, जिल्ला अध्यक्ष श्याम बस्नेत, ओमचरण अमात्य, डा राजेन्द्र कोजूलगायतले कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा भक्तपुरका चार वटा नगरपालिकाहरुका कुल ३८ वटा वडाहरुमध्ये सात वटामा बाहेक सबै वडामा वडास्तरीय पार्टी संगठन बनिसकेको बताइयो।

प्रतिक्रिया दिनुहोस्