युद्धग्रस्त युक्रेनबाट चार नेपाली आइपुगे काठमाडौं, देउवाले दिए मोदीलाई धन्यवाद
काठमाडौं । रुसी आक्रमण खेपिरहेको युक्रेनबाट उद्धार गरिएका चार जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरू आज (शनिबार) दिउसो काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनीहरूलाई भारतीय नागरिकसँगै भारत सरकारले युक्रेनबाट उद्धार गरेको हो ।
भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई ‘अपरेशन गंगा’ नाम दिएर उद्धार गरिरहेको छ । भारतीय नागरिकसँगै चार जना नेपालीको पनि उद्धार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीको उद्धार गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदी र भारत सरकारलाई धन्यवाद दिएका हुन् । ‘युक्रेनबाट भारत हुँदै चार जना नेपाली भर्खरै नेपाल आएका छन्’, देउवाले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘धन्यवाद प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू र भारत सरकार ।’
स्वदेश आइपुगेका उनीहरुको परिचय प्राप्त हुन बाँकी छ । गत साता पनि भारतीय सरकारले युक्रेनबाट पोल्याण्ड पुगेका एक नेपालीको उद्धार गरेको थियो । अहिलेसम्म युक्रेनबाट भारतले पाँच नेपालीलाई स्वदेश फर्किन सहयोग गरेको हो ।
प्रतिक्रिया दिनुहोस्