विमान दुर्घटनाका घाइतेको उपचारमा आपतकालीन सहयोग गर्न तयार : बंगलादेशी प्रधानमन्त्री

ढाका– युएस–बांग्ला एयरको विमान दुर्घटनामा घाइतेहरुको उपचारका लागि आपतकालीन सहयोग गर्न तयार रहेको बंगलादेशले जनाएको छ। मध्यरातमा एक भिडियो संदेश जारी गर्दै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले दुर्घटनामा घाइतहरुको उपचारमा नेपाल सरकारलाई जस्तोसुकै आपतकालीन सहयोग गर्न तयार रहेको बताएकी हुन्।

फ्लाइट नम्बर बिएस २११ को विमान ढाका–काठमाडौं उडानका क्रममा अवतरण गर्दा त्रिभुवन विमानस्थलमा सोमबार दुर्घटनामा परेको थियो। ४ जना चालक दलका सदस्यसहित ७१ जना यात्रु सवार सो विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परि २२ जना घाइते भएका थिए।

विमानमा ३३ नेपालीसहित ३२ बंगलादेशी, माल्दिभ्स र चीनका एकरएक यात्रु सवार थिए। दुर्घटनामा चालक दलका सबै सदस्यसहित २९ बंगलादेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार ४ दिने भ्रमणका लागि सिंगापुर पुगेकी प्रधानमन्त्री हसिना विमान दुर्घटनाको समाचारपछि भ्रमणलाई छोट्याउँदै आज स्वदेश फर्किदैछिन्।

उनले सोमबार नै नेपाली समकक्षी केपी शर्मा ओलीसँग सिंगापुरबाट फोन वार्ता गर्दै दुर्घटनाको अवस्थाका बारेमा जानकारी लिएकी थिइन्। फोनवार्ताका क्रममा उनले दुर्घटनामा परी मृत्यु भएका सबै यात्रुहरुप्रति श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

मध्यरातमा सिंगापुरबाटै बंगाली भाषमा एक भिडियो संदेश जारी गर्दै प्रधानमन्त्री हसिनाले भनिन्,‘म अहिले निकै विक्षीप्त अवस्थामा छु। आवश्यक पर्ने जुनसुकै कार्यका लागि नेपाल सरकारलाई सघाउन हामी तयार छौँ।’

भिडियो संदेशमा नेपालका प्रधानमन्त्री ओलीसँग हसिनाले फोनवार्ता गरेको बताएकी छन्। उनले भनिन्,‘उद्दार र घाइतेको उपचारका लागि हामी नेपाललाई सहयोग गर्न हरदम तयार छौँ।’

सन्देशमा उनले घाइतेहरुको काठमाडौंका विभिन्न ५ अस्पतालमा उपचार भइरहेको जनाएकी छन्। सन्देशमा भनिएको छ,‘घटनास्थल नजिकै नेपाली सेनाको क्याम्प छ। त्यसकारण दुर्घटना लगत्तै नेपाली सेनाले उद्दार कार्यलाई तीव्रता दिएको थियो।’

उनले नेपालका लागि बंगलादेशी राजदुत मासफी बिन्ते साम्सले घटनास्थलको अवलोकन गरिसकेको बताएकी छन्।

बंगलादेशका ३ वटै सुरक्षा निकायका प्रमुख, प्रधानमन्त्रीको कार्यालयका अधिकारी तथा विदेश मन्त्रालयका अधिकारी पनि नेपाल सरकारसँगनिरन्तर सम्पर्कमा रहेको प्रधानमन्त्री हसिनाले उल्लेख गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्