हरियो चुनाव चिह्नबारे आयोगले दियो यस्तो प्रष्टीकरण

काठमाडौं, फागुन २६ । निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको प्रष्टीकरण दिएको छ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न खोजिएको बताए।

चुनाव चिह्न र स्वस्तिक छापको रङ एउटै हुँदा रातको समयमा मतगणना गर्न कठिन भएको पाइएपछि ३० वैशाखको स्थानीय निर्वाचनमा रङ भिन्नता गर्न खोजेको अर्यालले प्रष्ट पारे। चुनाव चिह्नमा संकेत गर्न प्रयोग गरिने स्वस्तिक छाप नीलो रङको रहेको छ। २०७४ सालको निर्वाचनमा चुनाव चिह्न पनि नीलो रङको थियो।

‘कलर कन्ट्रयास्ट अर्थात् रङमा भिन्नताको कारणले मात्र यो निर्णय गरिएको हो। गणनामा सजिलो होस् भन्ने उद्देश्यले मात्र चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा भिन्नता ल्याउन खोजिएको हो। यदि कसैलाई द्विविधा छ भने प्रष्ट पार्न आयोग तत्पर छ,’ अर्यालले भने।

निर्वाचन आयोगले चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै त्यसको आलोचना गरेका छन्। सत्तारुढ दल नेपाली कांग्रेसलाई फाइदा हुने गरी आयोगले निर्णय गरेको आरोप उनले लगाएका छन्। कांग्रेसको चुनाव चिह्न रुख हो।

प्रतिक्रिया दिनुहोस्