संखुवासभा बस दुर्घटना : १४ जनाको गयो ज्यान, १० मृतक र पाँच घाइतेको खुल्यो पहिचान

काठमाडौं, फागुन २६ ।  संखुवासभाको मादी नगरपालिका-६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औंसीडाँडाका ३० वर्षीय विपीन निरौला, मादी-४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी-५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी-६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी-६ की अञ्जना कटुवाल र मादी-५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस मादी-६ को सातघुम्तीनजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

घाइतेको हेलिकोप्टरमार्फत उद्धार

बस दुर्घटनामा परेका पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मादी-५ का सुवास गोले, युवा पोख्रेल र मादी-६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन् ।

दुर्घटनामा घाइते भएका पाँच जनाकै नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं लैजाने तयारी भइरहेको प्रहरी प्रमुख सुवेदीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्