ओली अझै गठबन्धन तोड्ने षडयन्त्रमा छन् : माधव नेपाल

काठमाडौं, फागुन २५ ।  सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन तोड्ने अझै प्रयास गरिरहेको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन दल बीचमा अविस्वास पैदा गर्ने र गठबन्धन तोड्ने प्रयासलाई ओलीले अझै कायम राखेको बताएका हुन् ।

‘गठबन्धन बीचमा अविश्वास पैदा गर्ने र सत्ता गठबन्धनलाई तोड्ने षड्यन्त्र अझै भइरहेको छ’, अध्यक्ष नेपालले भने । उनले यसअघि एमसीसीको नाममा आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेर कांग्रेससँग मिल्ने योजनामा लागेका ओली सफल नभएको पनि बताए ।

एमसीसी पास नगरेको भए सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर आफूहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भएको नेपालले बैठकमा बताए ।

उनले एमाले अध्यक्ष ओलीलाई अझै पनि आफू निकै शक्तिशाली रहेको भ्रम रहेको भन्दै त्यो भ्रम आगामी निर्वाचनमा तोडिने बताए । ‘कुनै मान्छेहरूलाई अझै पनि शक्तिशाली हामी हौं भन्ने भ्रम छ । ती भ्रम समयक्रममा खुल्दै जानेछन् । स्थानीय निर्वाचनले पुष्टि गर्छ’, अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका छन् ।

अध्यक्ष नेपालले कुनै पनि नेताको नाम नलिइ गल्ती स्वीकार नगरे स्पष्टिकरण सोधिने बताएका छन् । नेपालले भने, ‘एमसीसीमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नु भएको छ । गल्ती स्वीकार गर्नुहोस् । स्पष्टिकरण सोध्नुपर्ने नहोस् । ती कुराहरू आपत्तिजनक छन्, पार्टीले सहन सक्दैन । बहुमतको निणर्य पार्टीको निणर्य हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्