कांग्रेसको एक महिने चुनावी अभियान घोषणा : एमसीसीबारे भ्रम चिर्नेदेखि ओली सरकारका कामको भण्डाफोर गर्नेसम्म
काठमाडौं, फागुन २४ । नेपाली कांग्रेसले आठ उद्देश्यसहित एक महिने चुनावी अभियानको घोषणा गरेको छ। फागुन २९ देखि सञ्चाल हुने अभियानका लागि कांग्रेस उम्मेदवारलाई विजय गराउने र एमसीसीका विषयमा भ्रम चिर्ने उद्देश्यहरु समेटिएका छन्।
कांग्रेसले चुनावसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्षमा गरेका जनविरोधी र असंवैधानिक कदमलाई जनता समक्ष व्यापकरुपमा लैजाने बताएको छ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा सभापति देउवाले चुनाव प्रचार अभियानमा सत्ता गठबन्धनको विरोध नगर्न आग्रह गरे। कांग्रेसले फागुन २९ देखि देशभर चुनाव प्रचार अभियान सुरु गर्दैछ। उनले कांग्रेसको पक्षमा माहोल बनाउन आग्रह गर्दै चुनावी प्रचारमा गठबन्धनको विरोध नगर्न अनुरोध गरे ।
हेर्नुस् अभियानका ८ उद्देश्य
१ . वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्दै निर्वाचनको माहोल बनाउने ।
२. स्थानीय निर्वाचनमा नेपाली काग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने। कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई अपील गर्ने।
३. ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बॉडफॉड, गरेर पार्टी पङ्क्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालनतर्फ उन्मुख गराउने।
४. नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने।
५. नेकपाको सरकारको गत ३ वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्ने।
६. प्रतिपक्षमा रहनु पर्ने जिम्मेवारीका वावजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने।
७. नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७०% नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसंग अझै सतर्कताका लागि अपील गर्ने।
८. करिब-करिब राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर हालसम्मकै सबैभन्दा ठूलो सहयोग। परियोजना एमसीसी कांग्रेस नेतृत्वको वर्तमान सरकारको नेतृत्वमा संसदबाट पारित भएको हुँदा त्यसबारेमा जनस्तरमा छरिएका अम बुँदागत रुपमा चिर्दै वास्तविकता प्रष्टसँग राख्ने।















प्रतिक्रिया दिनुहोस्