प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सरकारको प्रतिवेदन पेस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सरकारले आर्थिक वर्ष २०७७/०७८ मा गरेका काम र प्राप्त उपलब्धिसहितको प्रतिवेदन पेस गरेका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई सरकारको काम र प्राप्त उपलब्धिसहितको प्रतिवेदन र सुरक्षा परिषद्को प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार प्रधानमन्त्री देउवाले संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका कार्यान्वयनको सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७७/०७८ मा सरकारले गरेको काम र प्राप्त उपलब्धि सहितको प्रतिवेदन पेश गरेका हुन् ।

त्यस्तै, प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष देउवाले नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम सुरक्षा परिषदको आर्थिक वर्ष २०७७/०७८ सालको प्रतिवेदन पेस गरेका हुन् । सो कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्