बलात्कार आरोपित एमाले सांसद बानियाँ निलम्बित

काठमाडौं, फागुन २२ । बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन्। आइतबारको बैठकमा सभामुख अग्नि सापकोटाले बानियाँ निलम्बित भएको पत्र पढेर संसद्लाई जानकारी गराएका हुन्।

आफूले दिएको २५ लाख फिर्ता गर्ने भन्दै होटेलमा बोलाएर ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बानियाँ पक्राउ परेका थिए। महिलाले दिएको उजुरीका आधारमा बाँके प्रहरीले गत सोमबार नेपालगन्ज विमानस्थलबाट बानियाँलाई पक्राउ गरेको थियो।

उनी मुगुबाट समानुपातिक सांसद बनेका थिए। जबर्जस्ती करणी अभियोगमा उजुरी परेपछि बानियाँविरुद्ध जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको थियो। काठमाडौंबाट नेपालगन्ज आउने क्रममा उनलाई बाँके प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो।

सांसद बानियाँले गत १९ माघमा नेपालगन्जस्थित अप्सरा होटेलमा बोलाएर जबर्जस्ती करणी गरेको महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्ने भन्दै होटेलमा बोलाएको र त्यहीँ जबर्जस्ती करणी गरेको महिलाको आरोप छ। उनले २७ माघमा उजुरी दिएकी थिइन्। प्रहरीले त्यसबारे जानकारी गराउँदा बानियाँले आफैँ उपस्थित हुने बताए पनि फरार रहेका थिए।

प्रतिक्रिया दिनुहोस्