सुनको प्रतितोला मूल्य एक लाख नाघ्यो

काठमाडौं, फागुन २२ । सुनचाँदी बजारमा आइतबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख एक हजार नौ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिन प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला दुई हजार रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँ तोकिएको छ। जसको मूल्य गत शुक्रबार प्रतितोला ९९ हजार चार सय रुपैयाँ तोकिएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार चार सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आज नेपालको बजारमूल्यमा प्रभाव परेको महासंघका अध्यक्ष मनिकरत्न शाक्यले बताए। आज अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार नौ सय ७० डलर आसपास कारोबार भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्