दमौली बजारमा भिषण आगलागी, आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइँदै

काठमाडौं, फागुन २२ । तनहुँको व्यास नगरपालिका-४ मुख्यचोकमा रहेको भूपाल हार्डवेयरको गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ ।

आगलागी शुरु भएको दुई घण्टा पुगिसक्दा पनि निभाउन नसकिएपछि काठमाडौंबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याइएको छ ।

सिम्रिक एयरको हेलिकप्टरले आकाशबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेको छ । जमिनबाट पनि निभाउने प्रयास भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

आइतबार बिहान करिब १० बजे लागेको आगो निभाउन व्यासको दमकल, निजी पानी ट्यांकर प्रयोग गरिएको छ । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी र सेना खटाइएको छ । आगो निभाउन स्थानीयले पनि साथ दिइरहेका छन् ।

आगो नियन्त्रणमा लिन सात वटा दमकल र पानी ट्यांकर प्रयोग गरिएको छ । आगोको फैलावट रोक्नका लागि सुरक्षाकर्मीले डोजर लगाएर चार वटा टहरा भत्काएका छ ।

प्रतिक्रिया दिनुहोस्