माओवादी केन्द्रीय कमिटी बैठक आज, के-के छन् एजेण्डा ?
काठमाडौं , फागुन २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक आज (आइतबार) फेरि बस्दैछ । आजको बैठकको कार्यसूची पदाधिकारी चयनलगायतका सांगठनिक विषय हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । शुक्रबार बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।
गत पुस १८ गते माओवादीको आठौं महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो । लगत्तै पुस १९ गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अध्यक्ष चयन गरेको थियो । तर त्यसयता माओवादीले अन्य पदाधिकारी हालसम्म चयन गर्न सकेको छैन ।
आजको बैठकबाट केन्द्रीय कमिटीलाई पनि पूणर्ता दिने तयारी गरिएको छ । २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन् । २९९ मा १० प्रतिशत हेडक्वार्टरले मनोनीत गर्ने व्यवस्था छ । त्यस्तै २९९ को १५ प्रतिशत केन्द्रीय कमिटीले मनोनीत गर्नेछ । यता पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष. एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।
माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि अध्यक्ष बाहेक पदाधिकारी चयन हुन सकिरहेको छैन । शुक्रबारबाट शुरु भएको केन्द्रीय कमिटीको बैठक एक दिन स्थगित गरेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदाधिकारी चयन गर्न नेताहरूसँग आन्तरिक छलफलमा लागेका छन् ।
एमसीसी सम्झौता संसद्बाट व्याख्यात्मक घोषणासहित पारित भएपछि नेता नारायणकाजी श्रेष्ठ असन्तुष्ट बन्दै आएका थिए । केन्द्रीय कमिटी बैठकमा श्रेष्ठले प्रचण्डको आलोचना गर्दै पार्टीभित्र आफ्नो असन्तुष्टि राखेका छन् । श्रेष्ठको अभिव्यक्तिसँगै एमसीसीको विषयलाई लिएर पार्टीभित्र देखापरेको विवाद तत्कालका लागि समाधान भएको एक केन्द्रीय सदस्यले बताए ।
जारी केन्द्रीय कमिटीको बैठकबाट प्रचण्डले पदाधिकारीको टुंगो लगाउन चाहेका छन् । पार्टीको महासचिवका लागि अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरेका छन् । सम्भवतः शर्मा र पुनमध्ये एक जना महासचिव बन्ने बताइएको छ । महाधिवेशनबाट पदाधिकारी चयन टुंगो लगाउने तयारी भए पनि पुनले आफू स्वास्थ्य उपचार गराएर स्वदेश फर्कन लागेको जानकारी गराएपछि बैठक स्थगित भएको थियो । त्यसलगत्तै कोभिड संक्रणण बढेको भन्दै माओवादीको बैठक अनिश्चित्कालका लागि स्थगित भएको थियो ।















प्रतिक्रिया दिनुहोस्