उपत्यकामा हट्यो सबै प्रतिबन्धात्मक व्यवस्था : नियमित गतिविधि स्वास्थ्य मापदण्ड अनुरूप

काठमाडौं, फागनु २१ ।  काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमण रोकथाम गर्ने उद्देश्यले लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आजदेखि खुला गरिएको छ ।

उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)ले शुक्रबार जारी गरेको आदेशानुसार आजदेखि लागु हुने गरी ती प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले सबै गतिविधि नियमित रूपमा सञ्चालन गर्न सकिनेछ ।

ती प्रशासन कार्यालयले कानुनबमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न/गराउन भनी नयाँ आदेश जारी गरेका हुन् । आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गर्न भनिएको छ ।

यसअघि, अन्तिमपटक माघ २३ गते राति १२ बजेदेखि लागु हुने गरी जात्रा, महोत्सव, सभा, जुलुसलगायत धेरै मानिस भिडभाड हुने गतिविधि सञ्चालनमा रोक लगाउने गरी स्थानीय प्रशासनले आदेश जारी गरेको थियो । उक्त आदेशमा फागुन १ गतेबाट शैक्षिक क्षेत्रका अधिकांश गतिविधि खुला गरिए पनि केही प्रतिबन्धात्मक व्यवस्था कायम राखिएका थियो ।

यस्तै, सपिङ मल, सुपरमार्केटलगायत मानिस भिडभाड हुने क्षेत्रमा ५० जनाभन्दा बढी भेला नहुने गरी खोप लगाइएका व्यक्तिलाई मात्रै प्रवेश दिन आदेशमा भनिएको थियो । यस्तै, डान्सबार, दोहोरी सञ्चालन हुने स्थानमा पनि केही प्रतिबन्धात्मक व्यवस्था कायमै थियो ।

कोरोनाको तेस्रो लहर भित्रिएपछि गएको पुस २७ बाट उपत्यका प्रशासनले आदेश जारी गर्दै प्रतिबन्धात्मक व्यवस्था लागु गर्न सुरु गरेको थियो । ती प्रशासन कार्यालयले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषद्बाट भएका निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि ‘स्मार्ट लकडाउन’सम्बन्धी कार्यविधि–२०७८, संक्रामक रोग ऐन–२०२० र स्थानीय प्रशासन ऐन–२०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्