संसदको अवरोध जारी रहे मंसिरअघि नै संघीय चुनाव हुन सक्छ : गगन थापा

काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदको अवरोध जारी रहे आगामी मंसिर अगावै संघीय निर्वाचन हुन सक्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन उद्घाटन समारोह सम्बोधनका क्रममा उनले नेकपा एमालेले संसदमा जारी राखेको अवरोध नहटे आगामी मंसिर अगावै संघीय निर्वाचन हुन सक्ने बताएका हुन् ।

‘आम चुनाव मंसिरमा हुन्छ वा त्योभन्दा पहिला हुन्छ मलाई थाहा छैन । संसद यसै गरी चल्दैन । यसै गरी चल्न नदिने अवस्था रहन्छ । संसदलाई उपहास गर्ने काम लगातार नेकपा एमालेले गरिरह्यो,’ थापाले भने, ‘हामी संवाद गरिरहेका छौं । फकाउने कोशिस गरिरहेका छौं । आउनुस् भनिरहेका छौं । कुनै पनि तरिकाले सकिएन भने त्यो बेलामा संसद किन चलाइ राख्ने भन्ने प्रसङ्ग उठ्न सक्छ । त्यो बेलामा चुनाव अगाडि हुन पनि सक्छ ।’

उनले स्थानीय तहको निर्वाचन भने आगामी वैशाख ३० मै हुने बताए । ‘संविधानले, नियमले, ऐनले, कानुनले हमीलाई निर्वाचन एक दिन पनि तलमाथि गर्ने छुट दिएको छैन,’ महामन्त्री थापाले भने, ‘वैशाख ३० गते कांग्रेसले निर्वाचन गराउँछ ।’

उनले १४ औं महाधिवेशन पनि आफूहरु पार्टीलाई विधिसम्म ढंगले चलाउन र गुटबन्दी अन्यका लागि प्रयासरत रहेको पनि बताएका छन् । ‘हामी पार्टीलाई शतप्रतिशत विधिसम्मत ढंगले चलाउने प्रयास गरिरहेका छौं । पार्टीभित्र शतप्रतिशत एकता निर्माणको प्रयास गरिरहेका छौं’, थापाले भने, ‘पार्टीलाई विधिले डोर्‍याउनु पर्छ भनेर हामी एक ठाउँमा उभिएका छौं । सभापतिले हातलाई बलियो बनाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्