रुसद्वारा युक्रेनसँग युद्धविरामको घोषणा
काठमाडौं, फागुन २१ । रुसले युद्धविरामको घोषणा गरेको छ । बीबीसी संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्धको १० औं दिनमा रसियाले युक्रेनसँग युद्धविरामको घोषणा गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सो जानकारी दिएका हुन् । उनका अनुसार रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्को समय १० बजे आक्रमण रोक्न बताएको छ । मानिसहरूलाई मद्दत गर्न मानवीय कोरिडोरहरू खोल्न सकियोस् भनेर उक्त कार्य गरिएको हो ।
यसमार्फत, मारिउपोल र भोल्नोभाका शहरका नागरिकहरूलाई मद्दत गरिनेछ । रुसी सरकार समर्थित मिडिया स्पुतनिकले पनि यो युद्धविराम ६ बजेदेखि लागू हुने र यस अवधिमा सर्वसाधारणलाई सहयोग गर्न मानवीय करिडोर खोलिने जानकारी दिएको छ ।
त्यहाँबाट आम नागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई जनाउँदै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि बीबीसीले अहिलेसम्म युक्रेनी पक्षबाट त्यसको पुष्टि गरिएको थाहा पाएको छैन ।
यसअघि मारिओपोका नगर प्रमुखले जारी नाकाबन्दीबीच रुसी फौजबाट ‘क्रुर हमलाहरू’ भइरहेको भन्दै मानवीय मार्ग माग गरेका थिए । झण्डै चार लाख ५० हजार जनसंख्या भएको मारिओपोमा युक्रेनको मुख्य व्यापार बन्दरगाह छ । रुस-क्राइमिया सडक मार्गमा पर्ने त्यो मुख्य युक्रेनी शहर हो ।
१२ लाखले युक्रेन छोडे : राष्ट्रसंघ
रुसी आक्रमणका कारण करिब १२ लाख मानिस युक्रेन छोडेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी उच्च निकायको तथ्याङ्क छ । पलायन हुनेको आधाभन्दा बढी संख्या छिमेकी मुलुक पोल्यान्डमा पुगेको छ ।
बिहीवार, ३ मार्चसम्म उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार करिब ६५०,००० मानिस पोल्यान्ड पुगेका हुन् । त्यस्तै १५०,००० हङ्गेरी र बाँकी अन्य युरोपेली राष्ट्रहरूमा पुगेका छन् । छिमेकी मल्डोभा, स्लोभाकिया र रुमेनियामा बाँकी ठूलो संख्यामा शरणार्थीहरू रहेका छन् ।
यूएनएचसीआरका अनुसार ‘बाँकी धेरै देश भित्र र बाहिर हिँडिरहेका छन् ।’ ‘उनीहरूलाई सुरक्षा र सहयोगको खाँचो छ । अवस्थाबारे थाहा हुँदै जाँदा, अनुमानित ४० लाख मानिसले युक्रेन छोड्न सक्छन् ।’ आक्रमण अघि युक्रेनको कुल जनसंख्या करिब चार करोड ४० लाख थियो । बीबीसी
प्रतिक्रिया दिनुहोस्