५११ नेपाली ज्यान जोगाउन युक्रेन छाडेर सीमावर्ती देश पुगे

काठमाडौं , फागुन २१ । युद्धग्रस्त युक्रेनबाट ५११ नेपाली ज्यान जोगाउन सुरक्षित रुपमा सीमावर्ती छिमेकी देशमा पुगेका छन् । अहिलेसम्म युक्रेनबाट पोल्याण्डमा ४०३, स्लोभाकियामा ७१, रोमानियामा २७, हङ्गेरीमा ६ तथा मोल्दोभामा चार जना नेपाली पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई भारतीय उडानबाट नेपाल फर्काउने ल्याउने तयारी छ ।

युक्रेनबाट निस्केका नेपाली नागरिकलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत ल्याउनका लागि भारत सरकारलाई अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धारका लागि भारतबाट सकारात्मक जवाफ प्राप्त भएको र युक्रेनको सुरक्षा अवस्थालाई ध्यानमा राखेर त्यहाँ रहेका नेपालीलाई सुरक्षित ठाउँमा पुर्‍याउन र देश फर्काउन पनि सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्दार कार्यमा बर्लिनमा रहेको नेपाली राजदूतावास र मस्कोमा रहेको नेपाली राजदूतावासलाई परिचालन गरिएको छ । युक्रेनको विभिन्न ठाउँमा रहेका बाँकी केही नेपाली पनि तुलनात्मक रुपमा सुरक्षित रहेको र पश्चिम क्षेत्रतर्फ जाँदै गरेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

उद्दार र राहत कार्यमा समन्वय गर्न नेपाली राजदूतको अध्यक्षतामा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष सम्मिलित एक कार्यसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्