खानेतेलको मूल्य सातामै ६० रुपैयाँसम्म बढ्यो, ‘कालोबजारी’ रोक्न माग

काठमाडौं , फागुन २० । पछिल्लो एक सातामा खाने तेलको मूल्य ह्वात्तै बढेको छ । विशेष गरेर सन्फ्लावर र सोयाबिन तेलको मूल्य ह्वातै बढेको हो । गत साताबाट सुरु भएको रसिया र युक्रेनको युद्धसँगै नेपालमा अभाव हुने हल्ला चलाएरै मूल्य बढाइएको उपभोक्ता बताउँछन् ।नेपालले युक्रेन, रसिया र अर्जेन्टिनाबाट कच्चा तेल आयात गरी रिफाइन गरेर नेपाली बजार र भारतमा निर्यात गर्दै आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख ६१ हजारको कच्चा तेल आयात भएको छ ।यस्तै रसियाबाट २ अर्ब ५८ करोड ७५ लाख ३६ हजार र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख ८० हजार रुपैयाँ बराबरको आयात भएको छ ।

रसिया युक्रेन युद्धसँगै अब बजारमा खाने तेलको मूल्य बढ्ने भन्ने र अभाव हुने भन्दै व्यापारीहरुले बजारमा कृत्रिम अभाव सिर्जना गराएको उपभोक्ताको आरोप छ ।सन्फ्लावरसँगै सोयाबिन तेलको समेत मूल्य बढेको व्यापारीहरु बताउँछन् ।

नेपालमा सन्फ्लावर तेल युद्ध चलिरहेको रसिया र युक्रेनबाटै आयात हुने भए पनि सोयाविन तेल भने दक्षिण अमेरिकी राष्ट्रहरुबाट बढी आयात हुने गरेको छ ।

भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको ७ महिनामा ३९ अर्ब ६६ करोड ५९ लाख ५६ हजारको तेल आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै अर्जेन्टिनाबाट २७ अर्ब ४४ करोड ८० लाख ८ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

त्यस्तै ब्राजिलबाट ६ अर्बभन्दा बढी र ५ अर्ब भन्दा बढीको पाराग्वेबाट आयात भएको छ । यस्तै युक्रनेबाट ७९ करोडको र इजिप्ट तथा उरुग्वेबाट पनि समान्य आयात भएको छ ।

यसले सन्फ्लावर तेलको आयात प्रभावित हुने अवस्था देखिए पनि सोयाविन तेलको आयातमा भने खासै प्रभाव पर्ने अवस्था देखिँदैन ।तर, नेपालमा भने अहिले सन्फ्लावर र सोयाविन दुवै तेलको मूल्य उच्च रुपमा बढेको छ ।

उद्योगीहरु पनि रसिया युक्रेन युद्धले तेलको मूल्य अन्तर्राष्ट्रियरुपमा नै प्रभावित भएको बताउँछन् । सबैभन्दा धेरै सन्फ्लावर निर्यातकर्ता युक्रेन र रसिया युद्धमा रहँदा त्यसको प्रभावले सोयाविन तलको मूल्यमा पनि परेको श्री राम रिफाइन आयलका सञ्चालक प्रदिप मुरारका बताउँछन् ।

दुई साता अगाडि दुई हजार देखि २२ सय रुपैयाँ रहेको प्रतिकाटुन तेलको मूल्य अहिले २५ देखि २७ सय रुपैयाँ पुगेको खुद्रा व्यापारी बताउँछन् । तर उद्योगी मुरारका भने त्यति धेरै मूल्य नबढेको दाबी गर्छन् ।यता उद्योगीहरुले नै बजारमा खाने तेलको मूल्यमा कालो बजारी भएको बताउँछन् ।

सन्फ्लावर तेलको मुल्यमा वृद्धि स्वाभाविक देखिए पनि सोयाविन तेलमा भने मूल्य बढ्नुपर्ने कारण नदेखिने उनीहरुको तर्क छ ।अहिले नयाँ सिपमेन्ट गरेर कच्चा पदार्थ आयात गर्ने अवस्था नरहेको उद्योगी मुरारका बताउँछन् । अब नयाँ सामान ल्याउन मूल्य बढ्ने भएकोले अहिले केही मूल्य बढाएर बचेर नयाँ सामानमा नाफा नराखी बेच्नुपर्ने अवस्था रहेको उनको तर्क छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने उद्योगीसँग छलफल गर्दा मूल्य वृद्धि नभएको जानकारी उद्योगीले गराएको बताएको छ । विभागले पनि अनुगमान गरिरहेको र तेलको मूल्य बढाएर बेच्ने व्यापारीलाई कारवाही गर्ने विभागका प्रवक्ता हरि पंगेनीले बताए ।

नेपाली उद्योगीले पाल्म, सोयाविन र सन्फ्वार तेल नेपालमा प्रशोधन गरेर आयातको ठुलो हिस्सा भारत निर्यात गर्ने गर्दछन् ।तर, विश्वव्यापी रुपमा कच्चा तेलको मूल्य बढेसँगै त्यो तेल भारतीय बजारमा निर्यात गर्दा पनि नेपाली बजारमा थप अभावको अवस्था आएको कतिपयको बुझाई छ ।

यसैबीच राष्ट्रिय उपभोक्ता मञ्चले खानेतेलको मूल्यमा प्रतिलिटर ६० रुपैयाँसममा वृद्धि भएको भन्दै आवश्यक कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्